Lite Nepal

बिहिबार, भाद्र १०, २०७८

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले आफ्नै दल नेकपा (एमाले)भित्रबाटै बहुमत पुर्‍याउने दाबी गरेका छन्। मुख्यमन्त्रीको शपथग्रहण लगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै उनले जसरी पनि बहुमत जोगाउने दाबी गरे। आचार्यले मन्त्रिपरिषद् पनि चाँडै विस्तार गरिने जानकारी दिए।

आचार्यले लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरुसँग कुरा गर्ने र आफ्नै संख्या पुर्‍याएर बहुमत कायम राखिने बताए। नेकपा (एमाले) प्रदेश १ को संसदीय दलको नेतामा चयन भएको केही बेरमै आचार्य प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन्। मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर उनलाई दलको नेताका लागि प्रस्ताव गरेका थिए। दलको नेता बनेलगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’समक्ष आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्न सिफारिस गरिएको थियो।

मुख्यमन्त्री नियुक्त भएलगत्तै आचार्यलाई प्रदेश प्रमुख प्यासीले पद तथा गोपनीयताको शपथ गराए। संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरेर सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको छ। आचार्यले संविधान अनुसार ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ। विश्वासको मत प्राप्त गर्न नसके उनी मुख्यमन्त्रीमा रहिरहन पाउने छैनन्।

९२ सदस्यीय प्रदेशसभामा एमालेको एकल बहुमत छ। त्यही बहुमतका आधारमा दलको नेता चयन भएलगत्तै मुख्यमन्त्री नियुक्त हुँदै आचार्यले शपथ लिन पाएका हुन्। प्रदेशसभामा सभामुखसहित एमालेका ५१ सांसद छन्। बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ। एमालेबाट विभाजित बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तिर कति सांसद् जान्छन् भन्ने खुलेको छैन। समाजवादीले आफ्ना पक्षमा १५ सांसद रहेको दाबी गरेको छ। यद्यपि ८ जना मात्रै सांसद समाजवादीतिर गए भने पनि एमाले सरकार सुरक्षित नहुने र आचार्य अल्पमतमा पर्ने बताइएको छ।

त्यस्तै मुख्यमन्त्री नियुक्त भएलगत्तै आचार्यलाई बधाई दिनेको लर्को लागेको थियो। शपथग्रहरण गरेर प्रदेश प्रमुखको कार्यालयबाट बाहिरिँदै गर्दा उनलाई माला, खादा, पुष्पगुच्छा तथा अविर लगाएर शुभेच्छुक तथा कार्यकर्ताहरुले बधाई दिएका थिए। यसैबीच आफूले संसदीय दलको नेताबाट राजीनामा दिएर आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खुला गरिदिएपछि राईले भने एमालेको प्रभाव र बर्चश्व जोगाउन आफूले राजीनामा दिएको बताएका छन्।

संक्षिप्त प्रतिक्रिया दिँदै उनले एमालेको एकता कायम राख्न र पार्टीको शाख बचाउन आफ्नै प्रस्तावमा आचार्यलाई दलको नेता बनाइएको बताए। एमालेको प्रभावलाई यथावत राखेर सरकारलाई सुरक्षित गर्ने योजनाअनुरुप आफ्नो प्रस्तावमा आचार्य दलको नेता र मुख्यमन्त्री बनेको राईको भनाइ छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा