Lite Nepal

सोमबार, साउन १६, २०७९

झापा – ‘मेरो वडामा प्रधानमन्त्री आउनुभयो भने पनि गुन्द्रीमै बसाउँछु ।” यी भनाइ हुन् मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुनकुमार कार्कीको ।

गत वैशाख ३० गते स्थानीय चुनावबाट उहाँ वडाध्यक्ष निर्वाचित हुनुभएको हो । त्यसयता सो वडामा प्रधानमन्त्री आउनुभएको छैन तर, जे जति उच्च पदस्थ अतिथि वडा कार्यालयमा आइपुग्नुभएको छ, उहाँहरू सबैलाई वडाध्यक्ष कार्कीले कुर्सीमा होइन, परालको गुन्द्री र मकैको खोसेलाबाट निर्मित पिरामा बसाउने गर्नुभएको छ ।

भारतबाट मेची नदी तरेर सयको सङ्ख्यामा दिनका दिन जङ्गली हात्तीको हुल भित्रिने गौडाको रुपमा मुलुकमै परिचित बाहुनडाँगी क्षेत्रमा कार्की वडाध्यक्ष हुनुहुन्छ । बिहानदेखि बेलुकासम्म यहाँका बासिन्दाको तनमन हात्तीबाट कसरी जोगिने भन्ने ध्याउन्नमै हुन्छ । वडावासी शिक्षा, स्वास्थ्य, रोजगारी र किनमेलका लागि टाढा सहरी क्षेत्र काँकडभिट्टा, धुलाबारी, विर्तामोड या भारतको नक्सलबाडी पुग्न बाध्य छन् ।

“वडावासी विहान खाए बेलुकी के खानु भन्ने अवस्थामा छन्, उच्च शिक्षा पढ्ने एउटा क्याम्पस छैन, मानव–हात्ती द्वन्द्वले जनजीवन आक्रान्त छ”, कुर्सीको साटो गुन्द्री र पिरामा बसेर वडा कार्यालय सञ्चालन गर्दै आउनुभएका उहाँ भन्नुहुन्छ, “ जनताको यस्तो हालत रहेको बेला म कसरी बीसौँ हजार खर्चेर घुम्ने कुर्सीमा बस्न सक्छु ?”

विसंं २०७९ जेठ १२ गते खोसेलाको पिरामा बसेर वडाध्यक्षमा पद बहाली गर्दा उहाँ समाचारमा भाइरल बन्नुभयो । स्थानीयदेखि राष्ट्रिय तहका सञ्चारमाध्यमहरूले ‘कुर्सी हटाएर पिरामा बस्ने अनौठो वडाध्यक्ष’ भनेर चर्चा गरे । कतिपयले ‘सस्तो लोकप्रियताका लागि नटिक्ने ढर्रा’ भन्दै सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी पनि गरे ।

वडाध्यक्षको पदबहालीदेखि अहिलेसम्म वडाध्यक्ष कार्कीले कार्यालयमा कुर्सी प्रयोग गर्नुभएको छैन । सेवाग्राहीको निवेदनमा तोक लगाउने नियमित कामकाजदेखि वडाको बैठक बस्दासमेत घरेलु गुन्द्री र पिरा छाड्नुभएको छैन । कार्यालयमा आउने पाहुनालाई पनि उहाँँले गुन्द्री र पिराकै व्यवस्था मिलाउने गर्नुभएको छ ।

“कसैलाई देखाउन मैले ढर्रा गरेको होइन, पाँच वर्षे कार्यकाल गुन्द्री र पिरामै बिताउने सङ्कल्प बोकेर जनताको सेवामा जुटेको छु”, उहाँ भन्नुहुन्छ, “बाहिर आउने गरेका नराम्रा प्रतिक्रियाबाट म हत्तोत्साहित छैन र राम्रा प्रतिक्रियाबाट हौसिएको पनि छैन । म बिलासी जीवन बिताउन वडाध्यक्ष बनेकै होइन । जनताको घरमा चुलो नबल्ने अवस्था छ । म चाहिँ तिनै जनताको तिरोबाट घुम्ने कुर्सी किनेर वाहियात खर्च गर्न चाहन्न ।”

मानव–हात्ती द्वन्द्व न्यूनीकरण गरेर बाहुनडाँगीलाई कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यमा नमूना गाउँ बनाउने सपना साच्नुभएको वडाध्यक्ष कार्की विगत दुई दशकदेखि ग्रामीण पर्यटन र वातावरण संरक्षण क्षेत्रका अभियन्ता हुनुहुन्छ । वडाध्यक्ष भएपछिको तीन महिनाभित्रै उहाँको वडामा कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरीराज पौडेल, पूर्वोत्तर भारतका चर्चित पर्यटन अभियन्ता राज बसुलगायतका पाहुना भ्रमणमा आउनुभयो । साउन ११ गते आउनुभएका महावाणिज्यदूत पौडेललाई वडाध्यक्ष कार्कीले गुन्द्रीमै बसाएर शिष्टाचार भेटघाट र पर्यटन प्रवद्र्धनसम्बन्धी छलफल गर्नुभयो ।

त्यसैगरी, खाँदबारी नगरपालिका–४ का वडाध्यक्ष विनोद सुब्बा भगिनी सम्बन्ध स्थापनाका लागि आउनुभयो । दुबै वडाबीचको भगिनी सम्बन्धको दस्तावेज आदानप्रदान समेत गुन्द्री र पिरामै बसेर गरिएको थियो । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती वडा कार्यालयको निरीक्षणमा पुग्नुहुँदा उहाँलाई वडाध्यक्ष कार्कीले पिरामा बसाउँदै वडावासीका समस्या सुनाउनुभयो । गत जेठ २० गते नेपाल भारत सीमाको दशगजा नजिक मेची नदीको किनारमा पत्रकार सम्मेलनको आयोजना गरी वातावरण संरक्षणबारे आफ्ना योजना सुनाउनुभयो । उक्त पत्रकार सम्मेलनमा समेत वडाध्यक्ष कार्कीले मकैको खोसेलाबाट बनेको पिरामा बसेर पत्रकारको सवालको जवाफ दिनुभएको थियो ।

बाहुनडाँगी बजारमा रहेको वडा कार्यालयमा उहाँले २० वटा पिरा र छवटा गुन्द्री राख्नुभएको छ । वडा कार्यालयको अहिलेसम्म भएका डेढ दर्जन बढी बैठक गुन्द्री–पिरामै बसेर गरिएको कार्कीले जानकारी दिनुभयो । पिरामा बस्न असजिलो हुने शारीरिक अशक्त र ज्येष्ठ नागरिकका लागि बाँसका मुडाको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

गुन्द्री र पिरा स्थानीय सामानहरू मकैको खोसेला, सुपारीका पात र परालले बनाइएका हुन्छन् । गुन्द्री–पिरा अभियानबाट वडावासी खुसी भएको कार्कीको बुझाइ छ । उहाँ भन्नुहुन्छ, “घरेलु हस्तकला र सीपको सम्मान र प्रवद्र्धनमा यो अभियानले सघाउ पु¥याएको छ ।” ज्येष्ठ नागरिकलाई निःशुल्क वितरणका लागि भगिनी सम्बन्ध स्थापना गरिएको खाँदबारीको वडा नं ४ र तेह्रथुमबाट उहाँले घुँघुरोका चार सय लौरो मगाउनुभएको छ । वडालाई हराभरा र सुन्दर बनाउन फूल फुल्ने प्रजातिका एक लाख बिरुवा आफ्नो कार्यकालभरिमा हुर्काउने उहाँको योजना छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा