Lite Nepal

आइतबार, भाद्र ०७, २०७७

विराटनगर । संघीय सरकारले चैत ११ देखि साउन ७ सम्म गरेको लकडाउनमा विराटनगरमा ३३ जना मात्रै कोरोना संक्रमित थिए।

लकडाउन खुलेसँगै संक्रमितको संख्या ह्वात्तै बढ्यो। विराटनगर अहिले प्रदेश १ मा सबैभन्दा बढी संक्रमित भएको सहर बनेको छ।

संक्रमित बढेपछि महानगरले लकडाउन घोषणा गर्‍यो तर प्रहरी प्रशासनले साथ नदिँदा लकडाउन प्रभावकारी बनेन।

मुख्य सडक र बजारका पसल बन्द भए पनि भित्री बजार सडक खुले। संक्रमित भेटिएका क्षेत्रमा पान पसलदेखि चिया पसल खुला रहे।

जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार राति १२ बजेदेखि ५ दिनसम्म विभिन्न चार स्थानीय निकायमा निषेधाज्ञा जारी गरेको छ।

एक महिनाको अवधिमा विराटनगर महानगरपालिका, रंगेली नगरपालिका, बूढीगंगा र कटहरी गाउँपालिकामा संक्रमितको संख्या बढ्न थालेपछि प्रशासनले यो कदम चालेको हो।

संक्रमण समुदायस्तरमा फैलिएपछि बल्ल स्थानीय तह निषेधाज्ञा गर्न सहमत भए। प्रशासनले निषेधाज्ञा लगाएपछि सडक सुनसान छन्।

चोकचोकमा प्रहरी छन्। संक्रमितको व्यवस्थापन, उपचार र लकडाउनमा महानगर क्रियाशील भए पनि प्रदेशले सहयोग नगर्दा संक्रमण फैलिएको जनप्रतिनिधि बताउँछन्।

‘प्रदेशले समयमा लकडाउन गरेन, गर्न पनि दिएन। त्यसैले संक्रमित बढे’, महानगरपालिकाका मेयर भीम पराजुली भन्छन्, ‘अहिले पीसीआर परीक्षण सुस्त छ, यसमा साथ छैन।’

शनिबारसम्म विराटनगर महानगर क्षेत्रमा संक्रमितको संख्या ८ सय नजिक पुगेको छ।

साउन ७ मा लकडाउन खुल्नासाथ संक्रमितको संख्या १ सय ८ पुगेपछि महानगरले साउन १६ देखि ३२ गतेसम्म लकडाउनको घोषणा गर्‍यो। तर, लकडाउन प्रभावकारी भएन।

लकडाउनमा उद्योगी व्यवसायीले साथ नदिँदा अवस्था जटिल बनेको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीको ठहर छ।

अहिले लकडाउन प्रभावकारी बनाउने जिम्मा प्रशासनलाई दिइएको छ। शुक्रबारसम्म महानगरपालिकामा ७ जनाको मृत्यु भइसकेको छ।

७ सय ६० भन्दा बढी संक्रमित छन्।

स्थानीय तह र प्रदेश सरकारबीच कोरोना रोकथाम र व्यवस्थापनलाई लिएर आरोप प्रत्यारोप नै चलेको छ।

प्रदेश सरकार र प्रहरीबाट आवश्यक सहयोग प्राप्त नभएको महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले बताए।

मुख्यमन्त्री शेरधन राई करिब दुई साता काठमाडौं बसेपछि काम प्रभावित बनेको उनी बताउँछन्।

यसअघि संक्रमित थपिएर बेड अपुग भएपछि समन्वय अभाव भएको बताउँदै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विज्ञप्ति नै जारी गरेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा